गाउँमै निशुल्क स्वास्थ्य शिविर पाउँदा जलजलाका नागरिक दंग

पर्वतमाला (जलजला)। पर्वत जलजला गाउँपालिका–७ धाईरिङकी ७४ बर्षिय डम्मी परियार स्वास्थ्य परिक्षण गर्न भित्र छिरेको ९ मिनेटपछि खुशी हँुदै बाहिर निस्किन । लामो समयदेखी टाउको दुख्ने, घुमाउने, पाखुरो करकर खाने समस्याले ग्रसित परियारले आफ्नै गाउँमा सबै रोगको परिक्षण पछि निशुल्क औषधी पाएपछि खुशी भएकी हुन् । ‘अस्पताल जाने पैसा थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाईयो,’उनले भनिन् । गत साता पैसा नभएका कारण अस्पतालबाट आधा औषधी लिएर फर्किएकी परियारलाई स्वास्थ्य परिक्षण सँगै निशुल्क औषधी पाएपछि गाउँमै भगवान आएको अनुभूती सुनाईन ।

जलजला मिलनचोकका ६५ बर्षिय पहलसिँह दमाई दुई सातादेखी हर्निया रोगबाट अत्यन्तै पीडा बोध गरेका थिए । आर्थिक अभावका कारण रोग लुकाएर बसेका दमाईले निशुल्क औषधी पाएपछि उनी पनि निकै खुशी भए । उनले भने,‘गाउँमै आयोजना गरेको शिविरमा निशुल्क औषधी पाईयो । डाक्टरहरुको सल्लाह लिन पनि पाईयो । अब मलाई सञ्चो हुनेभयो ।,’जलजलाकै ८० बर्षिय थानमहादुर केसी मुटु दुख्ने रोगले समस्यामा परेका थिए । शिविरमा निशुल्क औषधी पाएपछि खुशी हुँदै भने,‘भगवानले हामी बुढाबुढिको समस्या सुनेर भगवान पठाउनु भएको रैछ ।,’ उनले शिविरले बाँच्ने आश जगाएको बताए । थानवहादुर सँगै बसेका धाईरिङका ८१ बर्षिय मणि आचार्यले भने,‘‘गाउँमा केटाकेटी छैनन्, आफु हिँडेर औषधी लिन जाने सक्ने अवस्था छैन, हाम्रो पुकार सुनेर गाउँमा औषधी बोकेर भगवान आए ।,’

अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिकाको व्यवस्थापनमा धाईरिङ मिलनचोकमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा दुई सय १५ जना नागरिकले सेवा लिएका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन, दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी र जनरल चिकित्सक हेमन्त बास्तोलाले सर्वसाधरणहरुको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा एकसय ७५ जना महिला र ४० पुरुषले सेवा लिएको कार्यक्रम संयोजक डाक्टर संगिता कार्की कुँबरले जानकारी दिईन ।शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा र औषधि वितरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल संयोजक मुना भुषालले बताईन । गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा मल्लाझ, बासखर्क, लेखफाँट, सालिजा, धाइरिङ, बनौ र नाग्लिवाङका सर्बसाधरणहरुले सेवा लिएका थिए ।सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नेपाल संयोजक भुषालले बताईन ।

शिविरको उदघाटन गर्नुहुँदै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले पालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यबाद दिए । उनले शिविरमा स्वास्थ्य परीक्षणका क्रममा गम्भिर प्रकृतिका विरामीहरु भेटिएमा थप उपचारका लागि पालिकाले सहयोग समेत गर्ने प्रतिबद्धत जनाए । प्रवासमा रहेर पनि जन्मभूमिको विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पर्वत समाजको ठूलो योगदान रहेको उनको भनाई छ ।

पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले विचार व्यक्त गरेका थिए शिविरको उदघाटन सत्रको संचालन नविन जिसीले गरेका थिए । समाजकै आयोजनामा सोही शिविर आइतबार पर्वतको पैञ्यु गाउँपालिका हुवासमा सञ्चालन हुने भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले शिविर आएर निशुल्क स्वास्थ्य परिक्षण गराएकोमा धन्यवाद दिए । जलजलामा शिविर आयोजना गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै अध्यक्ष केसीले भने,‘‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पुराएको हामीले महसुस गरेका छौं।,’

Back to top button