केपी ओली फेरि सत्तामा आए सिध्याउँछन् : माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए ।

नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरेपनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरि ओली सत्तामा आए इन्डो प्यासिफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताए । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिए ।ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । अध्यक्ष नेपालले भने,‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ । के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ । र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, सर्त राखेर । कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ । सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ । माधव नेपालसहितको १४ जनालाई सिध्याईदिनुपर्छ । मुन्ट्याएर निकालिदिनुपर्छ । कस्तो अपराधपूर्ण चिन्तन ? अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन् । यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए ? घाडो भइदिए । यस्ता घाडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ ।’

अध्यक्ष नेपालले भने, ‘हामी देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित छौं भने अर्कोतर्फ यो प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेका छौं । यसअर्थमा यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्वलाई हामी पराजित गर्न चाहन्छौं । एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन ? जनताले चिनी सकेका छन् ।’ इण्डोप्यासिफिक ओलीकै मन्त्रीले हस्ताक्षर गरेर आएको आरोप लगाउँदै उनले भने, ‘त्यही वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदिप ज्ञवालीले गएर नेपाललाई इण्डो प्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । त्यसपछि नेपाल त्यसको अंग बन्यो । पछि श्रीलंकाको नाम काटियो । नेपालको नाम रह्यो । जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्यौं । त्यसैका कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ । यो नेपाली जनताको संघर्षबाट भएको हो । केपी ओलीले सिध्याईसकेका थिए, नेपाललाई इण्डो प्यासिफिक अंग बनाउनका लागि । त्यो मान्छेको दिमागमा अहिले पनि झल्झल्ती छ । केपी आएपछि त फेरि सिध्याई दिन्छन् । फेरि बनाइदिन्छन् । त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन ।’अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि पटकपटक दोहोर्याए ।साभार रातोपाटी

Back to top button