वडा अध्यक्षको मृत्यु भएपछि स्थानीयद्वारा क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका -१ का वडाध्यक्ष नवराज कार्कीको शुक्रबार राति मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको छ ।कार्कीकाे मृत्यु पश्चात आज शनिबार मृतका परिवार र स्थानीय बासिन्दाले उपचारमा लागेको खर्च व्यहोर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।साे विरोध प्रदर्शनका कारण कर्णाली प्रदेश प्रवेशको मुख्य नाका छिञ्चु बजार बन्द भएकाे भेरीगंगा नगरपालिका मेयर भुपेन्द्र बहादुर चन्दले ईमेजखबरलाई बताउनुभयो । यहि फागुन ८ गते सुर्खेतको छिञ्चु बजार नजिक फोर्स गाडीले कार्की सवार मोटरसाईकललाई ठक्कर दिएकोथियो।

साे दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएकाथिए । शुक्रबार राति काठमाडौं स्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो । प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाे भेरीगंगा नगरपालिका मेयर चन्दले बताउनुभयाे । मुख्य नाका बन्द हुँदा कर्णाली प्रदेश आउने र बाहिर जाने सम्पूर्ण यातायातका साधनहरू समेत ठप्प भएका छन् ।सहमतिका लागि छलफल भइरहेको र मृतका परिवारलाई उचित क्षतिपूर्ति दिने याेजना भइरहेकाे भेरीगंगा नगरपालिका मेयर भुपेन्द्र बहादुर चन्दले बताउनुभएकाे छ ।साभार ईमेज खबर

Back to top button