कुश्माका सबै सडक पिच हुँदै

पर्बत । कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमुलक पूर्वाधार निर्माणको कार्यक्रम शुरु गरिने भएको छ । नगरपालिकाको आवश्यकता अनुसारको विभिन्न भौतिक पुर्वाधार निर्माण गर्न तथा आयअर्जन सम्बन्धि पुर्वाधारमुलक कार्यक्रम संचालनका लागि सघन शहरी विकास तथा भवन निर्माण विभाग संगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो । सघन शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी बिच कार्यविधिमा हस्ताक्षर भएको छ ।

नगरप्रमुख जोशीले कुश्मा नगरपालिका भित्रका सबै वडाका कच्चि सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको बताउनुभयो । यस्तै नाली निर्माण देखि आयआर्जनमुलक उद्यम विकासमा पनि कार्यक्रमले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । सबै वडामा एउटा न एउटा योजना पर्ने गरि कार्यक्रम तर्जुमा गरिने जोशीले जानकारी दिनुभएको छ । केहि योजना संकलन भैसकेको र योजना संकलनको काम भैरहेकाले नगरपालिकाले बिस्तृत योजना बनाएपछि योजनाको बिस्तृत अध्ययन हुने र तत् पश्चात कामको शुरुवात हुने नगरप्रमुख जोशीले बताउनुभयो ।

नगरउपप्रमुख सीता काफ्ले लामिछानेले शहर उन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनौट गरि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । आफुहरु निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभएको थियो । कुश्मा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि ५० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालु वर्ष योजना शुरु भएपनि अधिकाँश योजना वहुवर्षे कार्यक्रममा समाबेश हुने जनाईएको छ । कार्यक्रमका बारेमा आज नगरपालिकामा छलफल भएको थियो । उक्त कार्यक्रममा नगरप्रमुख जोशी, उपप्रमुख लामिछाने, सघन शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनाली, सघन शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिलिप भण्डारी, सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठ, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ, संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका सिनियर डिभिजनल ईन्जिनियर सुरोज पौडेल लगायत सहभागी हुनुभएको थियो ।

यसैबिच कुश्मामा बसपार्क निर्माणका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङ मार्फत योजना अगाडी बढाउन नगरपालिकाले सिफारिस गरेको छ । सिटीहल सहितको वसपार्क निर्माण गर्ने गुरुयोजना भएपनि चालु वर्ष १० करोड रुपैयाँ मात्र बजेट प्राप्त भएकाले उक्त बजेट मार्फत कामको शुरुवात गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो । सिटीहल सहित बसपार्क निर्माण गर्न ७५ करोड रुपैयाँ बराबरको बिस्तृत परियोजना प्रतिबेदन तयार गरिएको छ । वहुवर्षे योजनामा समाबेश भएको सिटीहल सहित वसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रुपमा अगाडी सारेको छ ।

Back to top button