
काठमाण्डाै – नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।आज अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।यो ऋण नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि रकम खर्च गरिनेछ । हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले यो ऋण सहायताले विशेषगरी बालबालिकामा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने बताउनुभयो ।त्यस्तै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसङ्ख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्त्वपूर्ण हुने बताउनुभयो ।साबार उज्यालो अनलाईन