बिमतिका बिच एमसिसि पास हुन सक्दैन : अर्थ मन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । पर्वतको कुश्मामा आज उद्योग वाणिज्य सङ्घको ३९औँ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै शर्माले एमसीसी सम्झौताको कारणले चौतर्फी रुपमा समस्या उत्पन्न गराएको भन्दै सबै दलहरूका बीचमा सहमति गरेर यसलाई अनुमोदन गर्ने की फिर्ता गर्ने भन्ने बारेमा साझा दृष्टिकोण बनाउन आवश्यक रहेको बताउनुभयो । एमसीसी सम्झौताका कतिपय बुँदाहरू संशोधन गर्नुपर्छ भन्ने केही दलको मत रहेको र केही दलले जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने अडान लिएको भन्दै अर्थमन्त्री शर्माले यसलाई साझा दृष्टिकोण बनाउँदा अहिले आएका समस्याहरू हल भएर जाने बताउनुभयो  । उहाँले व्यवसायी र बैंकरहरुको अन्तर छुट्टाउनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । बैङ्कले ब्याजदर बढाउँदा अर्थतन्त्रमा नकारात्मक असर पुगेको पनि उल्लेख गर्नुभयो । व्यावसायीहरुले उठाएको पुर्नकर्जाको माग जायज रहेको बताउँदै शर्माले यसको नीतिगत सुधारको पहल हुने अवगत गराउनुभयो । उहाँले रेमिट्यान्स बढाउन सरकारले प्रोत्साहनमूलक कार्यक्रम अगाडी बढाएको बताउनुभयो । क्रिप्टोकरेन्सी, हाईपर फण्ड जस्ता अनलाइन मार्केटिङ लगायतका कारोबारबाट धेरै मानिसहरू ठगिएको र ठूलो पुँजी पलायन भएकोले यस्ता कारोबारबाट जोगिन उहाँले आग्रह पनि गर्नुभयो । कुश्मा बजारमा सभा हल निर्माण गर्न, पर्वत र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीमा गाडी चल्ने पुल, कालीगण्डकी करिडोरका लागि बजेटको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासमा समाहित गर्न र प्रोत्साहन गर्न नीति र ऐन व्यवस्थित गर्ने उल्लेख गर्नुभएको छ । आगामी बजेटलाई गरिबी निवारण र तीव्र आर्थिक विकासमा केन्द्रित हुने पनि शर्माले जानकारी दिनुभयो ।

Back to top button