एकीकृत समाजवादीले एमसीसीमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,’ न्युज कारखानासँग उनले भने ।पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारले संसद्‍मा टेबुल गरेको एमसीसीलाई सांसदहरूले छलफलपछि निष्कर्ष निकालेर निर्णय लिन पाउने बताए । संसद्‍मा व्यापक छलफल भएपछि कुन प्रक्रियाबाट विपक्षमा उभिने त्यहीबेला टुङ्गो लाग्ने उनको भनाइ छ । ‘पक्ष वा विपक्षमा उभिँदा पनि संसद्को सर्वोच्चता र मर्यादालाई ध्यान दिएर एमसीसीमाथिको छलफलमा सहभागी भएर प्रक्रियागत ढङ्गले अघि बढ्छौँ,’ खतिवडाले भने । २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई एमालेले कारबाही गरेको थियो । ओलीसँग रुष्ट भएका र कारबाहीमा परेका सांसदले नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । एमसीसीलाई लिएर अहिले सो पार्टीमा स्पष्ट दुई धार देखिएको छ । साबार रातोपाटी

Back to top button