पोखरामा परेको असिना पानीले ११ करोड रुपैयाँ बराबरकाे क्षति

काठमाण्डाै – पोखरामा गएकाे आइतवार परेको असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीमा क्षति पुगेकाे  पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताउनु भयो ।कडारियाले राज्यले कृषकलाई दिएको बीमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताउनु भयो । उहाँले असिनाका कारण यस वडामा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार असिना पानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आउनुभएको उदय अर्गानिक कृषि फार्मका दुई वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख रुपैयाँ बराबरको क्षति भएको  छ ।पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आउनुभएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उहाँले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्णरुपमा क्षति भइ २० लाख रुपैयाँ बराबरको क्षति पुगेको बताउनु भयो । असिनाको भारका कारण टनेल भाँचिएको उहाँको भनाइ छ ।यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तरकारी खेतीमा ठूलो क्षति पुगेकाे छ । उहाँ सरकारले राहत दिएर भए पनि किसानहरुलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताउनु भयो । उहाँले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताउनु भयो ।पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गएकाे फागुन ८ गते आइतवार दिउँसो असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय बन्द भएको थियो । पोखराको न्युरोड, चिप्लेढुङ्गा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो  । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए  । साबार उज्यालो अनलाईन

Back to top button