एमसीसी नेपालकाे गरिबी अन्त्यका लागि अमेरिकाले गरेकाे सहयाेग : पाैडैल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताउनुभएकाे छ । आज साेमवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगकाे भेटपछि उहाँले यस्ताे बताउनुभएकाे हाे । एमसीसीले विद्युत् र सडकमार्फत नेपालको गरिबी हटाउन मद्दत पुर्‍याउने नेता पाैडेलकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई बजारमा लगेर बेच्नका लागि एउटा प्रसारण लाइन बनाइदिने । नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् । त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।यसैबीच उपेन्द्र यादवसँगकाे भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी भएकाे नेता पाैडेलले बताउनुभयाे । एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै उहाँले भेटवार्ताका क्रममा एमसीसीका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसीबारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो । वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेस भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँग पनि कुरा गर्ने बताउनुभयो । उहाँले देशमा सङ्कट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पुस्ता नै एउटा असफल पुस्तामा परिणत हुन थाल्यो । देश नै असफल राष्ट्रतिर जाने हो कि भन्ने मलाई चिन्ता भएर मैले पहिलेदेखि केपी ओलीलाई भेटेँ । त्यसपछि मैले यी पाँच दलका नेताहरूसँग कुरा गरे । देशको सङ्कट झन् गहिरिँदै नजाओस् भन्नेमा म प्रयत्नशील छु ।’

Back to top button