माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाण्डौ – नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न पार्टीमा रहेकाहरू क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एक पटक फेरि फैलिएको उल्लेख गर्नुभयो । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उहाँको भनाइ थियो । नेपाली कांग्रेस र नेकपा एमालेका झन्डै दुई दर्जन नेता तथा कार्यकर्तालाई आज आइतवार माओवादीमा प्रवेश गराउँदै उहाँले यो कुरा बताउनुभएको हो । नवप्रवेशीलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाइ पार्टीमा स्वागत गर्नुभएको हो । उनीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने उहाँको भनाइ थियो । यसरी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडाध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गर्नुभएको थियो । साबार उज्यालो अनलाईन

Back to top button