पर्वतको सिसाठाँटीका किसान व्यावसायिक भैँसी पालनमा सक्रिय

पर्बत । पर्वतको एक गाउँका बासिन्दा भैँसी पकेट क्षेत्र स्थापना भएपछि व्यावसायिक रुपमा दूध उत्पादनमा सक्रिय भएका छन् । गाउँमा उत्पादित दूध बजारीकरण गर्न हालै दूध सङ्कलन केन्द्र समेत स्थापना भएको छ । किसानहरू दूध उत्पादन गरेर आत्मानिर्भर हुँदै गएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको भैँसी पकेट क्षेत्रमा सूचिकृत भएपछि भैँसीपालनमा किसानको उत्साह बढेको छ । फलेवास नगरपालिका ३ सिसाठाँटी र वडा नम्वर २ थापाठानाका ६७ घरधुरी समेटिएको परियोजनाले भैसीपालनमा किसानलाई भैँसीपालन र दूध उत्पादनमा जोडेको हो । नगरपालिकाले गाउँलाई समेटेर भँैसी पकेट क्षेत्र घोषणा गरेपछि यो गाउँको आर्थिक हैसियत फेरिएको छ । यहाँका किसानहरूले मासिक १० हजारदेखि २० हजारसम्म आम्दानी गर्छन । मालखादमा दूध फाल्ने किसानले अहिले हातहातै पैसा कमाउँदा दङ्ग परेको अगुवा किसान शालिग्राम अधिकारीले बताउनुभयो ।गत आर्थिक वर्ष २०७७÷०७८ मा २५ लाख लगानी मार्फत यहाँका किसानहरूलाई समेटेर भैँसी पकेट क्षेत्रको रुपमा विकास गरिएको हो । नगरपालिकाले कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो । अहिले यो बर्ष थप ११ लाख रुपैयाँ सहयोग प्राप्त भएपछि किसानहरू थप उत्साहित भएका छन् । किसानहरूले १ सय ७० वटा माउ भैँसी र १४ वटा पाडा पालेका छन् । दैनिक एक सय २० लिटर दुध बेच्ने गरेका छन् । फलेवास नगरपालिका नगर प्रमुख पदमपाणि शर्माले पकेट क्षेत्रलाई विस्तार गरि किसानलाई भैँसीपालनमा थप अनुदान दिने सोचमा रहेको बताउनुभयो । उहाँले प्रतिफलमा आधारित अनुदान दिने कार्यक्रम समेत रहेको जानकारी दिनुभयो ।नगरपालिकाले दिएको अनुदान र आफ्नै मिहेनतले भैँसीपालन गरेका किसानको दूध बेचेर आम्दानी हुन थाले आर्थिक हैसियत उकासिँदै गएको छ ।

Back to top button