बाँँदर र दुम्सीले हिउँदे बालीनाली र तरकारी नष्ट गरेपछि पर्वतका किसानहरु चिन्तित

पर्वत । हिउँदे बालीका रुपमा लगाएका आलु, गुहँु, जौ, लगायतका बालीनाली बादर र दुम्सीले नष्ट गरिदिएपछि पर्वतका कृषकहरु चिन्तित बनेका छन् । अहिले जिल्लाभर बाँदर र दुम्सीको आतंक छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । बाँदर आतंकले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर तैनाथ हुने गरेको भए पनि रातमा आउने दुम्सीको ओखती नभएको गुनासो गर्छन् । ‘दिनभर सबै मिलेर बाँदर धपाउँछौं,’ फलेबास–३ कि तुलसी सापकोटाले भनिन्, ‘रातिमा दुम्सी कताबाट आउँछ कताबाट । आगो बालेर रातभर बस्दा आउँदैन । चिसा रातिमा सधैं बस्न पनि सकिँदैन ।’बाँदर, दुम्सीलगायत जंगली जनावरले दुःख दिन थालेपछि किसान थप समस्यामा परेको बताउँछन् । कुश्मा–१० पीपलटारीका रामबहादुर क्षेत्रीले २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनास पारेको बताए । ‘बेसाएर दुःख गरेर लगाएको खेती स्याहार्ने बेलामा शत्रु लाग्छ,’ उनले भने, ‘यस्तो भएपछि खेती लगाउने जाँगर कसरी आओस् ।’आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्क लगायत गाउँका आलुमा पनि बाँदर र दुम्सीको मुख्य समस्या रहेको किसानले बताएका छन् । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ,’ बाँसखर्कका जगतबहादुर खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले उल्टै जिस्काउँछ ।’ उच्च पहाडी भेगमा पर्ने ती गाउँमा मुख्यबाली आलु हो । मुख्य बाली नै जंगली जनावरबाट सखाप पर्न थालेपछि कृषक पिरलोमा परेका हुन ।कुश्मा र फलेवास नगरपालिकाका अन्य वडामा पनि बाँदर र दुम्सीको आतंकले किसानले लगाएको आलु स्याहार्न नपाएको किसानको गुनासो छ । गतवर्ष आलुखेतीबाट १० करोड रुपैयाँ भित्र्याएको महाशिला–२ भोक्सिङका किसान पनि यसपालि बाँदर आतंककै कारण भित्र्याउन नपाएको बताएका छन् । भोक्सिङका जीतबहादुर गुरुङका अनुसार असोजदेखि नै हुलका हुल आउन थालेको बाँदर अहिलेसम्म दैनिकजसो आसपासका जंगलमै बसेपछि धेरै किसानले आलु नै लगाएनन् । ‘बाँदरले नछोडेपछि जोगाउन सकिँदैन भनेर धेरैले आलु लगाएनन् ।’ किसानले खेती स्याहारेर खानै नसकेको गुनासो गरेपछि केही स्थानीय तहले बाँदर नियन्त्रणका योजना ल्याएका थिए । महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन सकेन । महाशिलाले पहिलो वर्ष करिब १५ सय बाँदर नियन्त्रण गरेको भए पनि चौतर्फी आलोचनापछि स्थगित गरेको थियो ।

Back to top button