६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने प्रक्षेपण

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएकाे आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा  बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ ।आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गएकाे आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा कमाएकाे बताउनुभयो ।कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सञ्चालन खर्चमा कटौती,  प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोशीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो ।’‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,’ घिसिङले उल्लेख गर्नुभयो ।

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश : विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्ब ५२ अर्ब, सहायक कम्पनीहरुमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ ।

विद्युत् निर्यात बढ्यो, आयात घट्यो

अघिल्लो वर्षहरुको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको छ भने अपुग विद्यतकाे आयातको परिमाण घटेको छ । गएकाे आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकोमा चालु आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गएकाे आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत् आयात भएकोमा गएकाे आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवको ६ महिनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ ।माघ, फागुनमा आयात केही बढ्ने भए तापनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ ।

विद्युत् चुहावट १४ दशमलव ४५ प्रतिशतमा झर्यो

चालु आवको ६ महिनामा विद्युत् चुहावट १४ दशमलव ४५ प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गएकाे आवमा प्रणालीको १७ दशमलव १८ प्रतिशतको चुहावटलाई चालु आवको ६  महिनामा २ दशमलव ७३ प्रतिशत बिन्दुले घटाएर १४ दशमलव ४५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४ दशमलव ४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९ दशमलव २३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गर्नुभयो । प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । साबार उज्यालो अनलाईन

Back to top button