साना लगानीकर्ता बचाउने उद्देश्य लिएर बाेर्डमा आएकाे छु : अध्यक्ष हमाल

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनुभएको छ । उहाँले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । अध्यक्ष हमालले शेयर बजारलाई स्वच्छ र पारदर्शी रूपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो । नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस् । सबैभन्दा ठूलो कुरा साना लगानीकर्तालाई मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने बजारकाे कहिल्यै पनि दिगो विकास हुन सक्दैन । उनीहरूकाे लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठूलो उद्देश्य हो ।’हमाललाई गएकाे बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तपछि हमालले गएकाे शुक्रवार अर्थ मन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । साबार उज्यालो अनलाईन

Back to top button