जनप्रतिनिधी आएको पाँच वर्षमा बागलुङमा महत्वकांक्षी योजना अधुरै

बागलुङ । स्थापनाको २५ वर्ष पूरा गरेको बागलुङ नगरपालिकामा जनप्रतिनिधि आएको पाँच वर्ष पुग्नै लाग्दा चुनावी घोषणापत्रमा भएका महत्त्वाकांक्षी योजना अलपत्र परेका छन् । केही गौरवका आयोजना संघ र प्रदेशको साझेदारीमा पूरा भए पनि मत माग्ने बेलाका प्रतिबद्धता भने घोषणामा सीमित भएका हुन् । जनप्रतिनिधिले निर्वाचनमा देखाएका ठूला योजनाको सपना पूरा नहुनुलाई जग्गा, बजेट अभाव, समन्वय अभावलाई समस्याका रूपमा देखाएर तर्कने गर्छन् । नगरप्रमुख जनकराज पौडेलले बजेट भए पनि जग्गा नपाएकैले बनाउने भनिएको सभाहलको योजना पूरा हुन नसकेको बताए । नगरपालिकाले डम्पिङ साइटसमेत बनाउन सकेको छैन । नगरपालिकाको वडा १ मा रहेको अस्थायी फोहोर व्यवस्थापन स्थल दुर्गन्धित छ । नगर विकास कोषको सहकार्यमा डम्पिङ साइट बनाउने योजना भए पनि काम नभएको हो । नगरप्रमुख पौडेलले भने प्रयास भइरहे पनि काम नभएको बताए । आफ्नै कृषि क्याम्पस बनाउने योजना पनि नगरले पूरा गर्न सकेको छैन । बजेट निकासा भएर पनि औद्योगिकग्राम बनाउने योजना तीन वर्षदेखि अगाडि बढेको छैन । बनेको बसपार्क पहुँच मार्ग नभएर चल्न सकेको छैन । वन्यजन्तु पार्क निर्माण गर्ने योजना, भवन निर्माण संहितासमेत पालना भएका छैनन् । कांग्रेस नेता दीपेन्द्रबहादुर थापाले नगरपालिकाभित्र आइपर्ने समस्या समाधान गर्न राजनीतिक दलसँग कुनै समन्वय नभएको टिप्पणी गरे । नगरपालिकाले आयोजना गर्ने सभामा पनि पार्टीका अगुवालाई कहिल्यै वास्ता नगरेको अन्य दलका नेताले बताए । माओवादी केन्द्रका नेता ज्ञामनाथ गैह्रेले दललाई नसमेटी नगरपालिका प्रमुख एक्लै हिँड्न खोजेको आरोप लगाए । भने, ‘सल्लाह नगरी केही काम भए होलान् तर धेरैमा असफल हुनुभयो ।’ एमालेबाट निर्वाचित नगरप्रमुख र कांग्रेसबाट निर्वाचित उपप्रमुख भएकाले पनि द्वन्द्व बढ्यो । कर्मचारी व्यवस्थापनमा नगर प्रमुखले मनोमानी गरेको आरोप छ । नगरप्रमुख पौडेलले भने अपेक्षा धेरै र साधनस्रोत सीमित हुँदा विवाद भएको बताए । ‘केही समय झगडा पनि भयो तर अभ्यासले सबै समस्या घटेर गएका छन्,’ उनले भने, ‘सिंहदरबार आयो, सबै अपेक्षा पूरा हुन्छन् भन्ने थियो । नहुने रहेछ भनेपछि विवाद घटेको छ ।’ संघीय सरकारको भरमा चल्नुपर्ने, प्रदेशले समयमा बजेट नदिने र प्राविधिक रूपमा वन, विद्युत् जस्ता संस्थाको समन्वयमा हुनुपर्दा केही योजना सुरु गर्न नपाएको उनको दाबी छ । विद्युत् प्रसारण लाइन लैजान ढिला भएकाले औद्योगिक ग्राम बन्न नसकेको, वडा नम्बर ५ को मालिकामा बनाउन खोजेको वन्यजन्तु पार्कमा वन मन्त्रालयसम्मको प्रशासनिक कामले ढिला भएको र जग्गा व्यवस्थापन गर्न नसक्दा कृषि क्याम्पस बनाउन नसकेको नगरप्रमुख पौडेलले बताए । केही गौरवका आयोजना भने नगरले पूरा गरेको छ । संघीय बजेट भित्र्याएर नेपालकै लामो ५ सय ६७ मिटरको पुल बनेको छ । नगरको निरन्तर दबाबपछि बलेवास्थित विमानस्थल कालोपत्र थालिएको छ । नागरिक उड्डयन प्राधिकरणले थालेको काम पूरा भए काठमाडौं र भैरहवाका लागि जहाज चल्नेछन् । नगरभित्रका ५ वटा विद्यालयमा नर्सको दरबन्दी व्यवस्थापन गरेको छ । विद्यालयमै उपचार, स्वास्थ्य परीक्षण जस्ता काममा यो दरबन्दी उपयोगी देखिएको विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तमणि ढकालले बताए ।

Back to top button