नेपाली काँग्रेस कुश्मा नगरपालिका ७ को पार्टी कार्यालय स्थापना

पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका ७ को पार्टी कार्यालय स्थापना भएको छ । कुश्मा नगरपालिका ७ खरेयामा पार्टी कार्यालयको शुक्रवार उद्घाटन गरिएको छ । साथै उक्त अवसरमा १४ औँ महाधिबेशन बाट विजयी भएका नेताहरुलाई बधाई ज्ञापन गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्दै पार्टी कार्यालय सञ्चालन गरेपछि अव पार्टीको नियमित बैठक बस्ने, समस्याहरुको बारेमा छलफल गर्ने, संगठन मजवुत बनाउन सबैले प्रयास गर्ने काम गर्न सुझाव दिनुभयो । उहाँले काँग्रेसका प्रति जनलहर बढ्दै गएको बताउँदै यसले अव काँग्रेसलाई अबको चुनावमा दुई तिहाई मत प्राप्त हुने दाबी गर्नुभयो । उहाँले नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारीका साथ आफ्नो काम गर्न र पार्टीका गतिविधिलाई जनताको घरदैलो सम्म पुराउन सुझाव दिनुभयो । नेता जोशीले एमसीसीलाई कम्यूनिष्ठहरुले गिजोल्ने काम गरेको भन्दै एमसीसी अरु अनुदान जस्तै सामान्य विषय रहेको चर्चा गर्नुभयो । एमसीसी पारित हुन नदिन चिनका कम्युनिष्ठ संग नेपालका कम्यूनिष्ठ दलहरुले साँठागाँठ गरेको समेत जोशीले आरोप लगाउनुभयो । उहाँले एमसीसी लाई संसदमा ल्याएर छलफल गर्ने र छलफल बाट आवश्यक देखिए पारित गर्ने नदेखिए अस्विकार गर्ने बिकल्प हुँदाहुँदै बिनाकारण संसदमा ल्याउन बाटै रोक्ने प्रयास भएकोमा आक्रोश व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै जिल्ला सभापति यूवराज जोशीले आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधीसभाको निर्वाचन काँग्रेसलाई जिताउने अभिभारा काँधमा बोकेर सभापति भएको भन्दै अव कुनै पनि गुट, पक्ष, विपक्ष वा उक्साहटमा नलगी आधिकारिक उम्मेदवारलाई जिताउने विश्वास दिलाउनुभयो । उम्मेदवार बन्न चाहना राख्नु स्वभाविक भएपनि अवका निर्वाचनमा जित्ने आधार भएका नेताले मात्रै टिकट पाउने सभापति जोशीले उद्घोष गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य सीता काफ्ले लामिछाने, प्रदेश सदस्य यामबहादुर मल्ल, जिल्ला उपसभापति डा. चुडामणी शर्मा र शिव सुबेदी, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, कुश्मा नगर सभापति किशोर भण्डारी, नेता बसन्तवहादुर सिके, नेपाली काँग्रेसका नेता एवम् कुश्मा नगरपालिका–७ का वडा सदस्य परशुराम पुरी, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला भारती शर्मा, कुश्मा नगरपालिकाको कार्यपालिका सदस्य डम्बर नेपाली, टोल समितिका सभापति विष्णुराज पुरी लगायतले बोल्नुभएको थियो । वडा सभापति खेमनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रमको स्वागत वडा उपसभापति बेदप्रसाद आचार्यले गर्नुभएको थियो भने सञ्चालन सचिव बालकृष्ण शर्माले गर्नुभएको थियो ।

Back to top button