पर्वतमा सुपरिवेक्षक तथा गणकका लागि आवश्यक तालिम शुरु

पर्बत । पर्वतमा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण सम्वन्धि सुपरिवेक्षक तथा गणकका लागि आवश्यक तालिम शुरु भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पहिलो चरणको ६ दिने तालिम शुरु भएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिब घरपरिवार पहिचान गरी उनिहरुलाई राज्यवाट सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले जिल्लाका सातवटै स्थानीय तहमा कार्यक्रम शुरु भएको हो । जलजला, कुश्मा र मोदी गाउँपालिकामा छनौट भएका २४ जना गणकहरुका लागि तालिम संचालन गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेलले सुपरिवेक्षक र गणकहरुले सहि र तथ्य सुचना संकलन गर्न आग्रह गर्नुभएको छ । जति धेरै सत्यतथ्य विवरण संकलन हुन्छ त्यतिनै धेरै गरिब र बास्तविक पिडित परिवार लाभान्वित हुने भएकाले विना पुर्वाग्रह निष्पक्ष भएर विवरण संकलनमा जुट्न आग्रह गर्नुभयो । राज्यवाट सेवा सुविधा पाउने नाममा कतिपयले भुकम्प पछिको अवस्था जस्तै झुटो विवरण टिपाउन सक्ने भन्दै सचेत हुनुपर्ने उहाँको भनाई रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जिल्लाका सातवटै पालिकामा छनौट भएका गणक र सुपरिवेक्षकका लागि आवश्यक तालिम प्रदान गरिने र निरिक्षण तथा अनुगमनको काम गरिने बताउनुभयो । उहाँले गणक तथा सुपरिवेक्षक प्रत्येक घरधुरीमा पुगेर परिवारको बास्तविक अवस्था पहिचान गरी विवरण संकलन गर्न आग्रह गर्दै समन्वय समितिले आवश्यक सहजीकरण गरिरहने बताउनुभयो । तालिमको सहजीकरण डिभीजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशब पुडासैनी र मोदी गाउँपालिकाका भाष्कर रेग्मीले गर्नुहुने भएको छ ।

Back to top button