पर्वतको बाँसखर्कबाट यस वर्ष ५ करोड बराबरका सुन्तला विक्री

पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करिव रु. ५ करोडका सुन्तला विक्री गरेका छन् । अनुकुल मौसमका कारण यसवर्ष सुन्तला खेती फस्टाएको हुनाले किसानहरुले यो वर्ष सुन्तला विक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सय भन्दा बढि परिवारले सुन्तला विक्रीबाट गाउँमा रु.५ करोड भित्राएको स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त गाउँमा गत वर्ष रु ३ करोड भित्रिएको थियो । यहाँको सुन्तला स्थानीय बजारमा मात्रै नभएर पोखरा, मुग्लीन र नारायणगढ लगायतका बजारमा समेत पुग्ने गरेको छ । किसानहरुले धान, कोदो र मकै भन्दा सुन्तला खेतीले फाईदा हुने भएपछि सुन्तलालाई मूख्य आम्दानीको रुपमा लिँदै आएका छन् । न्यूनतम पाँच लाख रुपैयाँ भन्दा थोरै कमाउने कुनै घरै छैनन् । बढिमा १९ लाख सम्म आम्दानी गर्ने परिवार समेत रहेका छन् । खत्रीले आफुले यस वर्ष झण्डै १३ लाख रुपैया आम्दानी गरेको सुनाउनुभयो । यो गाउँमा सवैभन्दा बढि सुन्तला भक्तबहादुर पाईजाले विक्रि गर्नुहुन्छ । उहाँले यस वर्ष झण्डै १६ लाख आम्दानी गर्ने बताउनुभयो । सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्ष अघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताउनुभयो । तर अधिकांस सुन्तला बोटबाटै विक्रि हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उहाँको भनाई छ । सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनी क्षेत्रफल विस्तार हुँदै आएको छ । विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यवसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आवद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यहाँका अधिकांस कृषक अन्नवाली छाडेर सुन्तला खेतीमा लागेका छन् । यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो । अहिले भने खेतवारी सवै सुन्तलाको बगानले ढाकिएको छ । सिंगो गाउँनै पहेलपुर बनेको छ । माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन् । अधिकांस सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगैचमा पनि ब्यावसायीहरु आफै गएर टिप्न थालेको स्थानीय यामबहादुर गर्बुजाले बताउनुभयो ।

Back to top button