स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी तयारी

पर्वत। स्थानीय तहको निर्वाचनका लागि जिल्लाका राजनीतिक दलहरू चुनावी तयारी र जोडघटाउ सुरु गर्न व्यस्त भइसकेका छन । दुई नगरपालिका र पाँच गाउँपालिका तथा ६१ वडा रहेको जिल्लामा एमाले, कांग्रेस र माओवादी केन्द्र चुनावी रणनीति बनाउन सुरु गरिसकेका छन । अघिल्लो निर्वाचन परिणाम विश्लेषण गर्दै राजनीतिक दलले जितेका स्थानमा आफ्नो विरासत जोगाउन र नयाँ स्थानमा किल्ला गाड्ने गरी अघि बढ्ने तयारीमा लागेका छन ।यसअघि २०७४ वैशाख ३१ को निर्वाचनमा एक नगरपालिका र तीन गाउँपालिका एमाले तथा एक नगरपालिका र दुई गाउँपालिका नेपाली कांग्रेसले जितेका थिए । त्यस्तै ६१ वडामध्ये नेकपा एमालेले ३७, नेपाली कांग्रेसले २० र नेकपा माओवादी (केन्द्र) ४ वडामा विजयी भएको थियो ।आउँदो निर्वाचनमा पनि पर्वतमा पुरानै राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुने निश्चित छ । उतिबेला र अहिलेको राजनीतिक परिस्थिति बदलिएको र यसपालि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म गठबन्धनको प्रभाव पर्ने भएकाले तीन राजनीतिक दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा परिणाम अनपेक्षित आउन सक्ने अगुवाहरूको आकलन छ ।माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसले आ–आफ्ना आन्तरिक गृहकार्यमार्फत निर्वाचनको तयारी सुरु गरिसकेको जनाएका छन ।

भर्खरै मात्र वडा, पालिका हुँदै जिल्लाको अधिवेशन सम्पन्न गरेका राजनीतिक दलहरू आन्तरिक तिक्तता र धमिलो पखालेर नयाँ जोसका साथ निर्वाचनमा जाने बताएका छन । नेपाली कांग्रेसले साविक गाविसका सबै वडास्तरमा टोल समिति गठन गरिसकिएको र स्थानीय तहको निर्वाचनमा तिनै समितिलाई पूर्ण अधिकारसम्पन्न गराएर सबै वडा जित्ने गरी तयारी थालेको सभापति युवराज जोशीले बताए । ‘हामीले साविक गाविसका सबै वडामा टोल समिति गठन गरिसकिएको छ । एक÷दुई दिनमा बैठक बसेर अरू रणनीति बनाउने गरी तयारी सुरु गरिसकेका छौं,’ जोशीले भने, ‘अहिलेबाट कोठे र गुटको राजनीति अन्त्य हुन्छ । भर्खरै भएको अधिवेशनमा निराश भएकाहरूलाई समेत साथमा लिएर जाने हो ।’ कांग्रेसले यसपालि गाउँमा लामो समय संघर्ष गरेका र स्थानीयले पत्याएका व्यक्तिलाई मात्रै टिकट दिने गरी गृहकार्य गरिरहेको जोशीले बताए । ‘जसले केही गर्छु भन्छ उसले जित्न सक्ने अवस्था छ । त्यसलाई अघि बढाउने हो,’ उनले भने । कांग्रेसले फागुन १ देखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ ।

अघिल्लो स्थानीय तहमा चार पालिकासहित जिल्ला समन्वय समिति र करिब दुई तिहाइ वडाध्यक्ष जितेको नेकपा एमाले यसपालि दुई धारमा विभाजित छ । माधव नेपाल समूहका केही व्यक्तिहरुले समाजवादी दल खोलेका कारण एमालेलाई ठुलो क्षती हुने आँकलन गरिएको छ । एमाले पर्वतका उपाध्यक्ष पदमपाणि शर्माले पुरानो तिक्ततालाई बिर्सेर पार्टी नयाँ रणनीतिका साथ अघि बढ्ने बताए । उनले नगरपालिका र गाउँपालिकाका केन्द्रहरूलाई लक्षित गरी कार्यक्रम अघि बढाइरहेको जनाएका छन । जिल्लाका सबै स्थानीय निकायमा आफ्नो बलियो पकड बनाउने गरी सांगठनिक अभियान सञ्चालन गरेको जिल्ला सचिव गोविन्द गिरी पहाडीले बताए । सबै पालिकामा नियमित भेला, प्रशिक्षण, पार्टी प्रवेश र संगठन सुदृढीकरणलाई निर्वाचनको मिति घोषणा हुनुपूर्व नै तीव्रता दिएको उनले बताए । अघिल्लो निर्वाचनमा चार वडामा जित हासिल गरेको नेकपा माओवादी केन्द्रले भने केन्द्रको गठबन्धनकै प्रभाव जिल्लामा हुन सक्ने र त्यसमा फाइदा लिने गरी अघि बढ्ने तयारी थालेको छ ।

Back to top button