जाल्पा लघुवित्तको आईपीओ आज साँझ बाँडफाँट हुँदै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौैंमा साँझ ५ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

कुल कित्ता आईपीओमध्ये कम्पनीले शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

कम्पनीको आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले रू. ३ अर्ब २५ करोड २० लाख ५८ हजार बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६६ दशमलव ६५ गुणा बढी आवेदन हुन आउँछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख छ । आईपीओ बाँडफाँट पछि यो पूँजी रू. १६ करोड पुग्नेछ ।

Back to top button