गण्डकी प्रदेशभर फागुन १ गतेबाट निःशुल्क रगत

पर्वत । गण्डकी प्रदेश सरकारले रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८ मन्त्रिपरिषद्‌बाट पारित गरेसँगै फागुन १ गतेबाट गण्डकी प्रदेशभर निःशुल्क रूपमा रगत उपलब्ध हुने भएको छ।रगतको खरिद बिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकोमा अब त्यो खर्च समेत प्रदेश सरकारले बेहोर्ने भएपछि गण्डकी प्रदेशका कुनै पनि अस्पतालमा रगतका लागि बिरामीले रकम तिर्नु नपर्ने भएको हो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ गत सोमबारको मन्त्रिपरिषद्बाट पारित भएसँगै विरामीले रगतमा कुनै रकम तिर्नु नपर्ने र यो निर्णय फागुन १ गतेदेखि प्रदेशभित्रका सरकारी तथा निजी अस्पतालमा लागू हुने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए।कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रूपमा गर्नुपर्ने उल्लेख गरिएको छ।साथै उपलब्ध गराइएको सेवा शुल्क भुक्तानीका लागि मासिक रूपमा जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमार्फत अस्पतालसमक्ष बिल भरपाई पेस गर्ने पनि उल्लेख गरिएको छ।रक्तदाताले निःशुल्क दिएको रगतको शुल्क लिन नहुने माग जनस्तरमा हुँदै आएको थियो। त्यही मागको सम्बोधन गर्दै गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका विरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो।विरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ।कार्यविधि अनुसार जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अध्यक्ष रहनेछन्।यसैगरी स्वास्थ्य कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालय, एकाइ कार्यालयका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला सभापति र जिल्ला अस्पतालका प्रयोशाला प्रमुख सदस्य रहने व्यवस्था छ।जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव अध्यक्ष हुनेछन्।प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक, अर्थ सम्बन्धी विषय हेर्ने मन्त्रालयका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष र चिकित्सा सेवा महाशाखा प्रमुख सदस्य रहने कार्यविधिमा उल्लेख छ।अहिले प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको छ। अन्य जिल्लाबाट गम्भीर र जटिल रोगका विरामी पोखराका अस्पतालमा आउँदा पनि पोखरामा रगतको माग बढिरहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ।साबार थाहा खबर

Back to top button