
पर्वतमाला (पर्वत) । पर्वतको फलेवासमा अञ्चलकै सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको छ । पाँच बिगाहा भन्दा बढि क्षेत्रमा फैलीएको खेल मैदान लामो समयदेखि स्थानीयबासीले गाईवस्तु चरन क्षेत्रका रुपमा प्रयोग गदै आएका थिए । संघियता सँगै स्थानिय जनप्रतिनिधी आएपछि गाईवस्तु चरन क्षेत्र रंगशालामा परिणत हुन थालेको हो । फलेवास नगरपालिकाले उक्त क्षेत्रलाई ‘फलेवास रंगशाला’ नामकरण गरेको छ । गत बर्ष नगरप्रमुख पदमपाणि शर्माले शिल्यान्यास गदै रंगशाला धौलागिरी अञ्चलकै पहिलो व्यवस्थित र पूर्वाधारयुक्त रंगशाला बन्ने दावी गरेका थिए । रंगशाला निर्माणका लागि २९ करोड बजेट लाग्ने अनुमान गरिएको छ । हालसम्म नगरपालिका मार्फत ४६ लाख, प्रदेश सरकार मार्फत दश लाख र संघ सरकार मार्फत ३० लाख बजेट बिन्योजन गरि काम अगाडि बढाईएको रंगशाला निर्माण समितिका सचिव विकास थापा ‘हिटलर’ ले जानकारी दिए । गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ । हालसम्म जमिन सम्माउने र जाली भर्ने काम भैरहेको छ । पोखरापछि फलेवासमा सुविधासम्पन्न रंगशाला बन्न लागेको थापाको भनाई छ । रंगशाला निर्माणका लागि पाँच बर्ष लाग्ने अनुमान गरिएको छ । रंगशाला निर्माण भएपछि फुटबल, भलिबल, ब्याडमिण्टन,तेक्वाण्डो लगायत एथलेटिक्सका खेलहरु खेल्न सकिनेछ । प्रदेशकै गौरवका रुपमा हेरिएको रंगशाला निर्माणका लागि बजेट विन्योजनमा भने कम्जुसाई भएको स्थानीयको गुनासो छ । रंगशाला निर्माणका लागि गण्डकी प्रदेश सरकारले डिपीआर तयार गरेपनि बजेट बिन्योजनमा कन्जुस्याई गरेको रंगशाला निर्माण समितिका अध्यक्ष नारायण प्रधानको गुनासो छ । ‘प्रदेश सरकार डिपीआर गर्न आएपछि रंगशाला बन्नेभयो भन्न आश पलाएको थियो, तर, बजेट बिन्योजन गरेको देख्दा हामी निराश छौँ, अध्यक्ष प्रधानले भने,‘प्राप्त बजेट भएमा समयसिमा भन्दा अगाडि नै रंगशालाको काम सक्ने थियौँ ।,’ उनले तत्कालका लागि १२ करोड रकम भएमा रंगशालाको बनावट तयार हुने बताए । रंगशालामा फुटबल मैदानसँगै ५ हजार भन्दा बढी दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने लक्ष्य समेत छ । ‘पोखरापछिको बैकल्पिक रंगशालाको रुपमा निर्माण गर्ने र विकास गर्ने लक्ष्य छ, प्रधानले गण्डकी संचार अनलाईनलाई भने ।,’ रंगशाला निर्माणका लागि अहिले नगरपालिका मार्फत काम भैरहेको छ ।स्थानीय युवाहरुको सक्रियतामा समिति गठन गरेर निर्माण कार्य अगाडि बढाईएको प्रधानको भनाईछ । खेलमैदान अभावका कारण यहाँका खेलाडिहरु बर्षनी पलायन हुँदै जान थालेका छन् । भलिबल, फुटबल ,त्रिकेट लगायत एथलेटिक्सका खेलमा यस क्षेत्रका खेलाडीहरुले दख्खल राख्नेगरेका छन् । ‘जिल्लाको समथर भु–भाग भएपनि यस क्षेत्रमा राम्रो खेलमैदानको थिएन, रंगशाला निर्माण हुन थालेसँगै यहाँका खेलाडिहरु उत्साहित भएका छन्,स्थानीय डोलराज भुषालले भने,‘खेल क्षेत्रको बिकास र बिस्तारका लागि रंगशाला कोषेढुङगा सावित हुनेछ ।,’ बिकासको दृष्टिकोणले पछि परेको देविस्थानमा रंगशाला निर्माणभए यस क्षेत्रको विकासले ठुलो फड्को मार्ने स्थानीयको बिश्वास छ । रंगशाला निर्माणको कार्य आफ्नै कार्यकालमा सक्ने लक्ष्य भएपनि बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको नगरप्रमुख पदमपाणि शर्माले बताए । उनले प्राप्त बजेट बिन्योजनका लागि प्रदेश र संघ सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरेका कारण रंगशाला निर्माणमा ढिलाई भएको बताए । फलेवासमा रंगशाला निर्माणका लागि भौतिक पूर्वाधार विकास गर्न सकेमा यस क्षेत्रको आर्थिक उन्नतिले फड्को मार्ने उनको विश्वास छ । ‘फलेवासमा अन्तर्राष्ट्रिय खेलहरू खेलाउनका लागि त्यहीअनुरूपको सुविधासम्पन्न रंगशाला बन्नुपर्छ,मेयर शर्माले भने,‘यदि अन्तर्राष्ट्रियस्तरको खेल आयोजना गर्न सकेमा खेलकुदको विकास भइहाल्छ, यसको साथै फलेवासको आर्थिक उन्नतिमा तीव्ररूपमा वृद्धि हुन्छ, पर्यटकको आगमन हुन्छ, होटल व्यवसाय फस्टाउँछ, यातायातलाई फाइदा पुग्छ,। अनि देशमा रहेका बेरोजगारले समेत रोजगारी पाउँछन् ।,’ फलेवास नगरपालिकाले विकासका पूर्वाधार सँगै खेलक्षेत्रलाई विशेष महत्व दिएको छ । पाँच बर्षको अवधिमा दर्जनभन्दा बढि खेलमैदान निर्माण गरेको नगरपालिकाले जनाएको छ ।