फलेवासमा सुके घैंटा, पानीको हाहाकार

पर्वत । आँगनमा बनेका सिमेण्टका घैंटा रित्ता छन् । नजिकै पानीको मुहान छैन । वर्खामा पानी संकलन गर्न बनाइएका सिमेण्टका घैंटा सुकेपछि पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका स्थानीयवासी समस्यामा परेका हुन् ।

शंकरपोखरी जिल्लाकै उच्च स्थानमा पर्छ । यहाँका बासिन्दालाई पानीको समस्या भएपछि २०६४ सालमा ‘फनबोर्ड’ नामक गैह्र सरकारी संस्थाले यहाँका ४० घरमा पानीका घैंटा बनाईदिएको थियो । यि घैंटा अहिले चुहिएर पानी अडिदैन ।

स्थानीय होमप्रसाद भुसालले वर्खाको पानी संकलन गरेर हिउँदमा प्रयोग गर्ने हेतुले निर्माण गरिएका घैँटा विग्रिएपछि पानीको अभाव भएको सुनाए । खानेपानीको जोहो गर्न स्थानीयलाई फेरि समस्या भएको भुसालले बताए ।

स्थानीय तुल्सीदेबी शर्मालाई कठ्याग्रिँदो जाडोमा बिहानै पधेँरामा पुग्नुपर्ने, पालो कुरेर पानी थाप्नुपर्ने बाध्यता छ । ‘आँगनमा घैंटो भएपनि पानी अडिदैँन,’ उनले भनिन्,‘ पानीका लागि दुई घण्टा धाएर गुहेँलीको धारामा पुग्नुपर्छ ।’ स्थानीयले लुगाधुने, नुहाउने र पशुचौपायलाई खुवाउने पानी गाग्रीमा बोकेर जोहो गर्दै आएका छन् ।

पानी लिन गृहणीहरु सबेरै उठ्नु पर्छ । पानी ल्याएर घर फर्किँदा दुई घण्टा बित्छ । पिउने पानीकै अभाव भएपछि तरकारी खेती गर्न र पशुपालन गर्न सकिएको छैन । फलेवास ३ थुमका सुनिता तिवारीले पानीको अभावले खेतीपाती गर्न पनि समस्या भएको सुनाईन् । उनले घरको करेसावारीमा तरकारी फलाउन नसकेको बताईन् ।‘ खानेपानीकै अभाव टार्न सकिएको छैन,’ तिवारीले भनिन्, ‘तरकारी फलाउने त सपना मात्रै भएको छ ।’ बिग्रिएका घैंटा मर्मत गर्न कुनै निकायले सहयोग नगरेको उनले बताइन् ।

शंकरपोखरीमा पानीको अभावले बसाईसराई समेत बढेको छ । गतवर्ष फलेवास नगरपालिकामा २९८ घर बसाईसराई गरेर गएका छन् ।

शंकरपोखरीकै १२० परिवार बसाईसराई गरेर गएको नगरपालिकाले जनाएको छ । बसाइसराईको मुख्य कारण पानीको अभाव हो । फलेवास नगरपालिकाका प्रसासन शाखाका प्रमुख कृष्णप्रसाद पौडेलले विकास निर्माणका गतिविधि सञ्चालन भएपनि पानीको अभावका कारण बढेको बसाईसराई रोक्न नसकिएको उनले बताए ।

यहाँ खानेपानीको समस्या समाधान गर्न ३ वर्ष अगाडीदेखि लिफ्ट खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । अहिलेसम्म यो आयोजनाको काम पूरा भएको छैन ।

चाँडै खानेपानीको आयोजना गाउँमा आएर घरकै आँगनमा पानी थाप्ने अपेक्षा पूरा नहुँदा स्थानीय निराश छन् । वडाध्यक्ष अर्जुनवहादुर केसीले पानीको समस्या समाधान गर्न अझै एक वर्ष पर्खिनुपर्ने बताए । उनले लिफ्ट खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडी बढाउन दवाव दिईएको बताए ।

Back to top button