पर्वतमा ‘स्काई क्याफे’ सञ्चालन

पर्वत । सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे द क्लिफ कम्पनीले सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा बञ्जीजम्पको निर्माण तथा सञ्चालन गर्ने उक्त कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको बताएको छ ।

कम्पनीका सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ । ‘क्याफे’मा बस्न फलाममा काठका फ्लेक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा शुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । ‘बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ, हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौं, स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो,’ कार्कीले भने ।

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको कम्पनीका अर्का सञ्चालक युवराज जोशीले बताए । क्याफेका लागि मात्रै झन्डै ९५ लाख लगानी गरेको भन्दै उनले प्रतिव्यक्ति दुई हजार ५०० शुल्क राखिएको जानकारी दिए । सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ । अहिले शुरुआत मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउन थप विकल्पका बारेमा छलफल भइरहेको छ ।

Back to top button