बङ्गलादेशले मार्चमा दक्षिण अफ्रिकामा एक दिवसीय र टेस्ट श्रृङ्खला खेल्ने

बङ्गलादेशको क्रिकेट टोलीले आउँदो मार्चदेखि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।

तीन वटा एक दिवसीय र दुई वटा टेस्ट क्रिकेटको श्रृङ्खला खेल्न बङ्गलादेशको टोली दक्षिण अफ्रिका जाने पक्का भएको हो ।

यी खेल एक दिवसीय सुपरलिग र विश्व टेस्ट च्याम्पियनसिपमा गणना हुनेछ । पहिलो एक दिवसीय मार्च १८ तारिखमा सेन्चुरियनमा, दोस्रो खेल मार्च २० तारिखमा जोहानेशबर्ग र तेस्रो खेल २३ तारिख सेन्चुरियनमा हुनेछ। यस्तै पहिलो टेस्ट मार्च ३१ र दोस्रो टेस्ट अप्रिल ८ तारिखमा हुने तय भएको छ ।

बङ्गलादेश अहिले ८० अङ्कसहित एक दिवसीय सुपर लिगको दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका भ्रमणमा जानुअघि बङ्गलादेशले घरेलु मैदानमा अफगानिस्तानसँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्ने छ । दक्षिण अफ्रिका भने १० खेलमा तीन जितसहित ३९ अङ्कसहित १०औँ स्थानमा छ ।

Back to top button